‘माइतीघर २’ बनाउँदै भुवन केसी, अनमोल हिरो

चैत २७, २०७७



सन् १९६६ मा निजी क्षेत्रको लगानीमा निर्माण भएको पहिलो फिल्म ‘माइतीघर’ को नाम सापटी लिएर निर्माता भुवन केसीले ‘माइतीघर २’ बनाउने भएका छन् । दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेता अनमोल केसीले मुख्य भूमिका निर्वाह गर्नेछन् । फिल्मको स्क्रिप्ट फाइनल भएर कलाकार छनोटको काम भइरहेको निर्माता केसीले जानकारी दिए ।

सुबोध चोपडाले निर्देशन गर्ने फिल्मको नयाँ वर्षबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । अहिले अनमोल फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छन् । यसपछि उनी आफ्नै होम प्रोडक्सनको फिल्म ‘पारस’ मा काम गर्ने तयारीमा थिए । तर, अब उनले यो फिल्मभन्दा अगाडि ‘माइतीघर २’ गर्ने सम्भावना प्रवल देखिएको छ । यस फिल्ममा उनको गेटअप परिवर्तन हुनेछ ।

भुवनले डेढ वर्ष अगाडि फिल्म ‘एन्टी हिरो’ पनि घोषणा गरेका थिए । फिल्मका लागि मुख्य नायिकामा जसिता गुरुङ फाइनल भइसकेकी छन् । फिल्ममा अनमोल हिरो र आफू भिलेनमा देखिन लागेको भुवनले बताएका थिए । तर, यो फिल्मको निर्माण तत्काल हुने छाँटकाँट देखिएको छैन । अनमोललाई ‘माइतीघर २’ को स्क्रिप्ट र आफ्नो भूमिका निकै मन परेको बुझिएको छ ।

स्वर्गीय बि.एस.थापा निर्देशित फिल्म ‘माइतीघर’ मा भारतीय अभिनेत्री माला सिन्हा र सिपी लोहनी मुख्य भूमिकामा थिए । प्रेमकथामा निर्माण भएको फिल्मका गीतमा जयदेवले संगीत भरेका थिए । फिल्मको ‘जुन माटोमा मेरो’ गीतलाई तत्कालिन राजा महेन्द्रले लेखेका थिए । वर्षौं सम्म रिलमा थन्किएको यो फिल्मलाई चलचित्र विकास बोर्डले अहिले डिजिटलाइजेसन गरेको छ ।