मिस्टर डन’ को सिक्वेल बन्ने

साउन ३१, २०७८


पछिल्लो समय नेपालमा नाफा कमाएका फिल्मको सिक्वेल निर्माण गर्ने होडबाजी चलिरहेको बेला अर्को एक फिल्मको पनि सिक्वेल बन्ने भएको छ । २०६३ सालमा रिलिज भएको अभिनेता द्वय शिव श्रेष्ठ र निखिल उप्रेती अभिनीत फिल्म ‘मिस्टर डन’ को सिक्वेल ‘डन २’ निर्माण हुन लागेको हो । कोरियोग्राफर दिनेश पाख्रिनको निर्देशनमा बन्ने फिल्मका लागि शुक्रवार एक गीत रेकर्ड गरियो ।

‘बग्यो त्रिशुली’ बोलको गीतमा गायक राजेशपायल राईले आवाज भरेका छन् । पुतलीसडक अवस्थित मिरा साउण्ड रेकर्डिङ स्टुडियोमा रेकर्ड गराइएको गीतमा विकास चौधरीको संगीत र हरी उप्रेतीको संगीत रहेको छ । फिल्ममा कथावाचनको रुपमा यो गीत प्रयोग गरिने निर्देशक पाख्रिनले बताए । गायक राईले रोमान्टिक थिमको गीत भएकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे ।

‘कास्ट एन्ड क्रियू’ फाइनल गरेर तिहारपछि फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम रहेको छ । फिल्मका लागि केही कलाकारसँग कुराकानी भइरहेको निर्देशक पाख्रिनले बताए । उनी भन्छन्, ‘कलाकारसँग कागजी सम्झौता नभएसम्म कसलाई फिल्म अफर गरेका छौं भनेर भन्न मिल्दैन । फिल्ममा अहिलेका एक स्टार र अघिल्लो पुस्ताका एक स्टारको अभिनय रहनेछ ।

दिनेश थापा प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता निर्मल लामा, बिक्रम तामाङ र हेलेन पाख्रिन छन् । दिनेश पाख्रिनकै कथा रहने फिल्मको वितरण गोपालकाजी कायस्थको कम्पनी विके फिल्मस्ले गर्नेछ । फिल्म एक्सन जनरामा निर्माण हुनेछ । मदन घिमिरे निर्देशित ‘मिस्टर डन’ मा त्यसबेलाका चर्चित कलाकार सन्चिता लुईंटेल, विक्रान्त बस्नेत, स्वं. जेनी कुँवरको पनि अभिनय थियो ।