कमेडी च्याम्पियन : जनताका लागि भोट माग्दै नेता

भदौ १३, २०७८


नेपालको पहिलो स्ट्यान्डअप कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन–२ फाइनलनजिक पुग्दा राजनीतिक सहभागिता देखिन थालेको छ ।

शोमा रहेका प्रतिस्पर्धीहरूको पक्षमा रहेर राजनीतिक दलका नेताहरूले भोट माग्न थालेका छन् । विशेषगरी गृहजिल्लाका प्रतिस्पर्धीका पक्षमा नेताहरूले खुलेरै भोट माग्न थालेका हुन् ।

शोमा हाल भरतमणि पौडेल, विक्की अग्रवाल, सन्तोष थापा, विकास अर्याल र हिक्मत महरा छन् । भरतमणि ताप्लेजुङका हुन् भने विक्की अग्रवाल भारत, सिक्किमका हुन् । सन्तोष थापा गोरखाका हुन् भने विकास अर्याल स्याङ्जाका कमेडियन हुन् । हिक्मत महरा कञ्चनपुरका प्रतिस्पर्धी हुन् ।

विकास र हिकमत वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् । विक्कीले पफर्मर अफ द राउन्ड भएर उत्कृष्ट चारमा आफूलाई सुरक्षित गरिसकेका छन् ।

सन्तोष थापाका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोट मागेका छन् । उनले आफूले सन्तोषलाई गृहजिल्लावासीका नाताले मात्रै भन्दा पनि उनको प्रतिभाले कमेडी च्याम्पियन बन्ने सम्भावना देखिएको बताएका छन् । “गोर्खाली (पालुङटार नगरपालिका–६, कालामाटा) भएर मात्रै होइन, प्रस्तुति हेरेर सन्तोष थापा कमेडी च्याम्पियन बन्ने देखियो । शुभकामना,” डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले सन्तोषसँग खिचेको तस्बिरसँगै उनले प्रस्तुति दिँदै गरेका तीनवटा तस्बिर पनि फेसबुकमा सेयर गरेका छन् ।

नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री योगेश भट्टराई खुलेरै भरतमणिको पक्षमा वकालत गरिरहेका छन् । गृहजिल्लाका कमेडियन भरतमणिलाई उनले हास्यव्यंग्य क्षेत्रको ‘उदाउँदो मणि’ भनेका छन् । उनले शुभकामना मात्रै दिएका छैनन्, भोट पनि मागेका छन् ।

“अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन–२ का प्रतिस्पर्धीहरू सबै अब्बल छन् । त्यसमध्ये पनि भरतमणि पौडेलचाहिँ मलाई हास्यव्यंग्य क्षेत्रको उदाउँदो मणिजस्तो लाग्छ । कञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथीभरा माताको छत्रछायामा हाम्रै गाउँ÷घरमा हुर्केबढेका यी ताप्लेजुङे ठिटो हाम्रो प्रिय त छँदै छन्, त्योभन्दा बढी यिनी प्रतिभाशाली छन्,” योगेश भरतमणिको पक्षमा शब्द खर्चिँदै फेसबुकमा लेख्छन्, “त्यसैले कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यिनको दौडमा भोटमार्फत होस्टेमा हैँसे गर्दा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइले पनि आनन्दको अनुभूति गर्नुहुनेछ । यो मेरो व्यक्तिगत अनुभूति मात्रै हो । बाँकी निर्णयको अधिकार त तपाइँकै । सबै प्रतियोगीलाई मेरो शुभकामना छ ।”

योगेशको पहलमा यसअघि नै भरतमणिलाई ६ लाख रुपैयाँ राशिको पुरस्कार घोषणा गरिएको छ । योगेशको संयोजनमा उनले व्यक्तिगत रूपमा एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको छ । उक्त पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिने जनाइएको छ । आफ्नै क्यारिकेचर हेरेपछि योगेश भरतमणिका पक्षमा उभिएका थिए ।

नेकपा (माओवादी केन्द्र)की नेत्री तथा पूर्वमन्त्री बीना मगरले हिकमतलाई विजयका लागि शुभकामना मात्रै दिएकी छैनन्, उनले भोट गर्ने तरिका पनि बताएकी छन् ।

“कञ्चनपुरदेखि काठमाडौंसम्मको यात्रामा कमेडी च्याम्पियनका चर्चित कमेडियन सुदूरपश्चिमका प्रतिभाको अब्बल योद्धा भाइ हिक्मत महरालाई टप ६ मा पुर्‍याउन भोट गरी आगामी दिनहरूका लागि सुरक्षित गरिदिनुहुन अनुरोध गर्दछु,” अगस्ट १० मा उनले सामाजिक सञ्जालमा लेखेकी थिइन् ।

पूर्वमन्त्री तथा एमाले नेत्री पद्यमा अर्यालले पनि गृहजिल्लाबाट कमेडी च्याम्पियनमा प्रतिस्पर्धा गरिरहेका विकास अर्यालका लागि भोट मागेकी छन् । उत्कृष्ट ५ मा पुग्न सफल भएकोमा बधाई दिँदै उनले विजेता बन्न शुभकामना दिएकी छन् ।

“कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम कमेडी च्याम्पियनमा स्याङ्जा जिल्लाका विकास अर्याल भाइ टप ५ मा पुग्न सफल हुनुभएकोमा उहाँलाई विजेता बन्नका लागि शुभकामना प्रदान गर्दछु,” पद्यमा अगाडि लेख्छिन्, “सम्पूर्णलाई सहयोगका लागि अनुरोध गर्दछु ।”

विक्की अग्रवाललाई पनि सिक्कमका मुख्यमन्त्री पीएस गोले (प्रेमसिंह तामाङ)ले सहयोग गरिरहेका छन् । उनले विक्कीलाई भोट गर्नका लागि ६ लाख भारतीय रुपैयाँ सहयोग यसअघि नै गरिसकेका छन् । अहिले पनि विक्कीलाई विजेता बनाउन सिक्किममा चलिरहेको क्याम्पियनमा सहयोग गरिरहेको कमेडी च्याम्पियन निर्माण पक्षले जनाएको छ ।

एमाले नेता एवं पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले भरतमणिको प्रशंसा गर्दै ‘अमिताभ बच्चनको शोमा पठाइदिनुप¥यो’ भन्दै ट्विट गरेका थिए ।

“गोकुल बास्कोटा कमेडी च्याम्पियनको करिब–करिब नियमित दर्शक नै हुनुहुँदो रहेछ । वास्तवमा हाम्रा लागि यो राम्रो पक्ष पनि हो,” कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी भन्छन्, “हाम्रा कमेडियनलाई भोट माग्ने अधिकांश नेताहरूले आफैँ अग्रसरता लिएर भोट मागिदिनुभएको हो । कमेडियनले फलो गरेर, उहाँहरूलाई भेटेर भोट मागिदिन आग्रह गर्नुभएको होइन ।”

डा. बाबुराम भट्टराईले पनि सन्तोषलाई आफैँले बोलाएको विशालले जानकारी दिए । “गत वर्ष पनि सेमिफाइनलमा पुगेपछि आ–आफ्ना जिल्लाका प्रतिस्पर्धीहरूलाई जिताउन नेताहरूले क्याम्पियन नगरेका होइन, तर, नदेखिने गरी भित्रभित्रै क्यापियन गरेका थिए,” विशाल भन्छन्, “तर, यो वर्ष नेताहरूले देखिएरै क्याम्पियन गरे । सम्भवतः जनतालाई नेताले भोट मागेको यो पहिलोपटक हुनसक्छ ।”

नेता, राजनीति तथा समग्र समाजमा रहेका विकृति र विसंगतिप्रति लक्षित व्यंग्य सम्बन्धित पक्षमा पुग्नु कमेडी च्याम्पियनका लागि सफलता भएको उनले बताए । “नेताहरूले आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई भोट माग्नु भनेको कमेडीमार्फत गरिएको व्यंग्य सम्बन्धित पक्षले हेरिरहेको छ भन्ने हो । त्यसलाई मनन् गर्नु/नगर्नु त सरोकारवाला पक्षको कुरा हो,” विशाल भन्छन् ।

विशाल भण्डारीले निर्देशन गरेको कमेडी च्याम्पियनमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन् । गत वर्ष सम्पन्न सिजन–१ मा हिमेश पन्त विजेता बनेका थिए ।