चलचित्र ‘बाटुलो जून’ को पहिलो गीत ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ सार्वजनिक

२ घण्टा अगाडि


आगामी कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बाटुलो जून’को पहिलो गीत ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ घटस्थापनाको अवसर पारेर आइतबार सार्वजनिक गरिएको छ ।

युग भुसालको शब्द तथा सङ्गीत रहेको यस गीतमा भारतीय गायक/गायिका हिमांशु जान शर्मा र तृषा चटर्जीको स्वर रहेको छ । विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य जोडी अनमोल केसी र प्रिन्सी खतिवडालाई ३०/४० को दशकको परिवेश झल्किने रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । जुँगासहित देखिएका अनमोलले भिडियोमा नृत्य र हाउभाउमार्फत बुवा भुवन केसीको शैली पछ्याउने प्रयास गरेका छन् ।

नेपाली समाजको ३०/४० को दशकको प्रेमकथामा आधारित यस चलचित्रको निर्देशन भुवन केसी आफैंले गरेका हुन् । चलचित्रमा भुवन केसी र अभिनेत्री गरिमा पन्तको मुख्य भूमिका रहेको छ भने उनीहरूको युवावस्थाको चरित्रलाई अनमोल र प्रिन्सीले पर्दामा उतारेका छन् । उनीहरूका साथै चलचित्रमा न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर सिवाकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

अभिनेत्री जीया केसी र भविष्य खड्का निर्माता रहेको यस चलचित्रका सह/निर्माता विवेक थापा हुन् । सामिप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेको ‘बाटुलो जून’ मा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, युग भुसाल र एसडी योगीको सङ्गीत तथा रोमन बज्राचार्यको पार्श्व सङ्गीत रहेको छ ।