उपत्यकामा खुलेनन् फिल्म हल

भदौ १७, २०७८


जिल्ला प्रशासन कार्यलय काठमाडौंले बिहिबारदेखि उपत्यकाको हल खोल्न दिने निर्णय बुधबार गर्यो । प्रशासनको निर्णयले फिल्म क्षेत्रमा उत्साह थपिएको थियो । करिब ४ महिनादेखि बन्द रहेको हल बिहीबारबाटै आफुहरुले खोल्ने चलचित्र संघका महासचिव अशोक शर्माले बताएका थिए । तर बिहीबार भने उपत्यकामा कुनै पनि हल खुलेका छैनन् ।

प्रशासनले अनुमति भएपनि बिहीबार आफुहरु हल खोल्न असमर्थ रहेको चलचित्र संघका महासचिव अशोक शर्माले बताए । लामो समयदेखि बन्द रहेको हलको सफाई, प्राविधिक चेकजाँच लगायतको टेक्निकल समस्याले आज फिल्म रिलिज हुन सकेन’ शर्माले भने, अझै केही दिन यस्तो समस्या रहन्छ । त्यसपछि हल खुल्छ, सबै प्राविधिक व्यवस्था मिलाएर एक साताभित्र सबै हल खुल्ने उनले अनुमान लगाए ।

‘हल खुलेपनि सुरुमा नयाँ फिल्म लाग्दैन’ शर्माले थपे, पुरानो फिल्म रिलिजबाट दशै सम्ममा नयाँ फिल्म रिलिज गर्ने माहोल बनाउँछौ । शर्मा पुरानो फिल्म रिलिजका लागि भने समस्या नरहेको खुलाए । थपे, फिल्मको कारणले भन्दा हलकै कारणले आज नखुलेको हो । पुरानो फिल्मको समस्या भने छैन ।