अभिनेत्री शर्मा र रंग पत्रकार गिरीलाई हरितारा पुरस्कार

बैशाख १३, २०७९


काठमाडौं । २०७७ सालको हरितारा चलचित्र पुरस्कार अभिनेत्री मिथिला शर्मालाई र २०७८ सालको हरितारा चलचित्र पुरस्कार वरिष्ठ रंग पत्रकार विदुर गिरीलाई प्रदान गरिने भएको छ । चार दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा योगदान दिएकाले शर्मालाई र तीन दशक भन्दा लामो समयदेखि यो क्षेत्रमा क्रियाशिल रहेकाले गिरीलाई यो पुरस्कार प्रदान गर्न लागिएको आयोजक संस्थाका सदस्य सचिब मोहन निरौलाले बताएका छन् ।

हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको पनि निरौलाले बताएका छन् । यो पुरस्कार २०५२ सालमा विजया राणा (तारा नानी) ले स्थापना गरेकी हुन् । अभिनेत्री शर्मा र पत्रकार गिरीलाई पुरस्कार स्वरुप जनही २५ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरिने भएको छ ।

यस्तै २०७७ र २०७८ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अभिनेता विनोद श्रेष्ठ र प्राविधिक तथा सञ्चारकर्मी मनोज केसीलाई प्रदान गरिने पनि निरौलाले बताएका छन् । श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको राशी जनही १० हजार १० रुपैयाँ रहेको छ । परिवर्तन नेपालको सोही वैठकले चलचित्र क्षेत्रमा विशेष योगदान पु¥याउनु भएका निर्देशक मदन घिमिरे, ज्ञानेन्द्र देउजा, लेखक÷ निर्माता मौनता श्रेष्ठ, अभिनेता श्रीदेव भट्टराई, राज कुमार शाहलगायतलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गर्ने भएको छ ।

यस्तै गीतकार तथा चलचित्र निर्देशक दिवँगत चेतन कार्कीको स्मृतिमा यस वर्ष स्थापित चेतन कार्की स्मृति पुरस्कार लेखक निर्देशक अभिनेता देशभक्त खनाललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको छ । सोही बैठकले परिवर्तन पत्रकारिता विशेष सम्मान संचारकर्मी दिनेश सिटौलालाई अर्पण गर्ने निर्णय गरेको छ । यी सबै पुरस्कार जेठको दोश्रो साता प्रदान गरिने पनि आयोजक मोहन निरौलाले एक विज्ञप्ति मार्फत जनाएका छन् ।