आँचलको जोडी आशीर्वाद सँग नाइँ नभन्नु ल ६ मा

बैशाख २८, २०७९


नाइँ नभन्नु ल ६ को मुख्य भूमिकामा आँचल शर्मा र डेब्यु अभिनेता आशीर्वाद बरालले अनस्क्रिन रोमान्स गर्ने भएका छन् । भदौदेखि छायांकन सुरु हुने फिल्ममा यी दुई कलाकारसँग मौखिक सहमति भएको जानकारी निर्देशक विकास आचार्यले दिए । तर सलोन बस्नेतले यो सिरिजमा नखेल्ने सम्भावना रहेको उनले बताए ।

निर्देशक तथा निर्माता आचार्यले अहिले फिल्मको पटकथा लेखिरहेका छन् । प्रेमकथा र बालमनोविज्ञानमा निर्माण भएका अघिल्ला पाँचै सिरिजले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेका छन् । सलोनजीले खेल्ने वा नखेल्ने टुंगो छैन । अहिलेसम्म आशीर्वाद र आँचल नै फाइनल हुनुभएको छ,’ आचार्यले अनलाइनखबरसँग भने ।

सलोनले पनि छैटौं सिरिज गर्ने सम्भावना कम रहेको संकेत गरे । सलोन यसैसाता ‘हनीबनी’ फिल्म छायांकनलाई लण्डन उड्दैछन् भने नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ह्रस्वदीर्घ मा समेत उनी अनुबन्धित छन् । नाइँ नभन्नु ल’ को पहिलो भाग सन् २०१० अगस्ट २० मा रिलिज भएको थियो ।