आज राष्ट्रिय बाल दिवस मनाइँदै

भदौ २९, २०७९


काठमाडौँ २९ भदाै ।

आज राष्ट्रिय बाल दिवस देशैभर बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन्।

यस वर्षको बालदिवस ‘बालमैत्री समाजको आधार जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाइँदै छ।
नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो। त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइँदै आएको छ।

दिवसका अवसरमा शुभकामा दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन्।