डोटीका भूकम्प पीडितलाई एक लाख सहयोग गर्ने एमालेको घोषणा

कार्तिक २३, २०७९


डोटी,२३ कात्तिक । 

नेकपा एमाले डोटीले भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । एमाले जिल्ला अध्यक्ष चक्र मल्लले सहयोगको घोषणा गर्नुभएको हो । बुधवार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँ पुगेर पीडितहरुलाई भेटेका मल्लले भूकम्प पीडितहरुको उद्दार र राहतमा सहयोग पुगोस् भनेर उक्त रकम दिने निर्णय गरेको जानकारी दिनुभएको छ । मल्लले उक्त रकम जिल्ला विपद व्यवस्थापन समितिलाई तत्कालै उपलव्ध गराउने बताउनुभएको छ ।

पार्टीले गर्ने सहयोगको विषयमा आफूले आधिकारिक रुपमा डोटीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको समेत उहाले बताउनुभएको छ । भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ५ जना गम्भिर घाइते भएका छन् । भूकम्पका कारण ८ घर पूर्णरुपमा क्षति भएका छन् ।