देशव्यापी कन्सर्टका लागि उपत्यकाबाहिर जाँदै नेपथ्य

मङि्सर १३, २०७९


निर्वाचन सकिएसँगै लोकरक ब्यान्ड नेपथ्यले देशव्यापी सांगीतिक यात्रा गर्ने भएको छ । यही मंसिर १६ गते विराटनगरमा नेपथ्यले कन्सर्ट गर्दैछ । देशका प्रमुख सहरमा सांगीतिक प्रस्तुति गरेर आगामी पुस १६ गते काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम गरेर समापन गरिने नेपथ्यले जनाएको छ । देश दौडाहाका क्रममा सांगीतिक मनोरञ्जन मात्र नभई मानवता प्रवर्द्धनका लागि पनि योगदान पुग्ने नेपथ्यका प्रमुख गायक अमृत गुरुङले बताए ।

सडकमा रहेका असहायहरुका लागि आश्रयस्थलको खोजीमा सहयोग गर्नु पनि कन्सर्टको उद्देश्य रहेको उनले बताए । हाम्रा आ–आफ्ना विचार, आस्था र मान्यताले गर्दा चुनावमा स्वाभाविक तवरले जताततै मतान्तरका घेरा कोरिएको हुनुपर्छ, एक महिना लामो सांगीतिक देश दौडाहामा निस्कनुअघि गायक गुरुङले भने, अब फेरि सिंगो समाज एउटै सूत्रमा गाँसिनु जरुरी छ, जसलाई संगीतले मद्दत गर्न सक्छ । नेपथ्यले यो कार्यक्रममा सामाजिक संस्था मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ ।