गृहमन्त्री लामिछानेलाई बधाई दिन कुलमान घिसिङ सिंहदरबारमा

पुष १९, २०७९


पुस १९, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

सञ्चार क्षेत्र छाडेर केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै लामिछाने गत ४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका थिए । उक्त निर्वाचनमा १३ प्रत्यक्ष र ७ समानुपातिकबाट गरी २० सिट जितेर संसद्को चौथो शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।

सो पार्टीका सभापतिसमेत रहेका लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी सहित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छन् ।