मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारको गति बढ्छ : उपप्रधानमन्त्री पौडेल

पुष २२, २०७९


पुस २२, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले तीव्र गतिमा काम गर्ने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले राष्ट्रिय अभिभारा पूरा तथा ज्वलन्त समस्या समाधान गर्न गतिशील ढङ्गले काम अगाडि बढाउने विश्वास दिलाए ।

हामी केही महत्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौँ । सरकार गठन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई पूर्णता दिने प्रक्रियामा हुनुहुन्छ, उनले भने- सरकारले पूर्णता पाएसँगै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकार केन्द्रित हुने उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र गरी एक सय ६९ सांसदको समर्थन छ । यही पुस २६ गते प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।