राष्ट्रिय सहमतिको सरकार आबश्यक छ : रामचन्द्र पौडेल

माघ १०, २०७९


माघ १०, नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेलले राष्ट्रिय सहमति गरेर जानुपर्ने बताएका छन् । उनले राष्ट्रिय सहमतिका पक्षमा आफू पहिलेदेखि नै रहेको आज प्रतिनिधि सभा बैठकमा बताएका हुन् । मैले राष्ट्रिय सहमतिको कुरा गर्दै आएँ । यो भर्खरको कुरा होइन। मैले आफ्नो स्वार्थका लागि राष्ट्रिय सहमति खोजेँ भन्ने अर्थ लाग्ला त्यो होइन, उनले भने।

राष्ट्रिय सहमतिका साथ दलहरू अघि बढ्नुपर्ने बताउँदै उनले तीन कुरा उठान गरेका छन् । मुलुकको आर्थिक अवस्था कमजोर छ। भू-राजनीतिक दवावमा हामी छौं र शान्ति प्रक्रिया अझै पूर्ण भइसकेको छैन, पौडेलले भने, यी कुराका लागि राष्ट्रिय सहमति आवश्यक छ । उनले देशमा कुशासनको अनुभूति भइरहेको पनि बताएका थिए। विभिन्न अपराधमा जोडिएकालाई दलहरूले प्रोत्साहन दिइरहेको उनको भनाइ थियो । सबै दल एकठाउँ हुँदा अपराधिको मनोबल नउठ्ने उनले बताए।

दलहरूको एकता आवश्यक छ, उनले भने, निष्ठाको राजनीतिलाई जोगाउन पनि एकताको खोजी गर्नुपर्छ । पौडेलका अनुसार नेतृत्वले विश्वास गुमाएको अवस्था छ । गुमेको विश्वास सकारात्मक सोच, सहमति, सहकार्य र एकताबाट फिर्ता ल्याउन सकिने उनले बताए । संसदमा विभिन्न पार्टीका सांसदहरूले गरेका भाषण र सभामुख तथा उपसभामुख निर्वाचनमा गरिएका मतदानप्रति लक्षित गर्दै उनले निशाना एकातिर भोट अर्कैतिर हाल्ने गरेको आरोप लगाए ।