प्रचण्डको ब्रिफिङ- अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्री कसैलाई बनाउँदिनँ

माघ १७, २०७९


माघ १७, प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने ब्रिफिङ गरेका छन् । आज पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले तत्काल कसैलाई गृहमन्त्री नबनाइने बताए । माओवादीका केही नेताहरूले पनि तत्काल कसैलाई गृहमन्त्री नबनाउन सुझाव दिएका थिए ।

अदालतको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे थप निर्णय हुँदैन भन्ने कुराकानी भयो बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले पत्रकारहरूसँग भने, अहिले गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नुभएको छ, त्यही कायम रहन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री आफूहरूले पाउनुपर्ने अडान राखिरहेको छ । फरक प्रसंगमा महराले राष्ट्रपति राष्ट्रिय सहमतिअनुसार नै बनाइने बताएका छन् ।

गत शुक्रबार नागरिकता मुद्दामा रवि लामिछानेको सांसद पद सर्वोच्चबाट बदर भएको थियो । रविले अमेरिकी नागरिकता त्याग गरे पनि पुनस् कायमको प्रक्रिया पूरा भएको देखिएको थिएन । लामिछानेले आइतबार नेपाली नागरिकता पुनस् कायम गरिसकेका छन् । लामिछानेको नागरिकता मुद्दाबारे सर्वोच्चबाट फैसलाको पूर्णपाठ आइसकेको छैन । पूर्णपाठ आइसकेपछि मात्रै गृहमन्त्री कसलाई बनाउने भन्नेबारे छलफल हुने माओवादीका नेताहरू बताउँछन् । माओवादीले पार्टीले महत्वपूर्ण मन्त्रालय नलिएको भन्दै गृहमन्त्री अरूलाई नछाड्न प्रधानमन्त्री प्रचण्डलाई दवाव दिइरहेका छन् ।