मेरो मौनता आजसम्मका लागि मात्रै हो : रवि लामिछाने

माघ १९, २०७९


माघ १९, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् । आफू अभिमन्यु नभएको बताउँदै उनले सामाजिक सन्जालमा लेखेका छन्, अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुन: प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । त्यससँगै उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट पनि मुक्त भएका थिए । तर आइतबार उनले पुन: नागरिकता लिने प्रक्रिया पूरा गरेका थिए ।

त्यसपछि रास्वपाले गृह मन्त्रालयमै दाबी गरिरहेको छ । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने बताएका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने तत्काल गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा छन् । रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।