सुपर मादी हाइड्रोपावरको आइपिओ बाँडफाँट

माघ २३, २०७९


माघ २३, सुपर मादी हाइड्रोपावरको आइपिओ आज सोमबार बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । उक्त आइपिओमा १३ लाख ४ हजार २०८ जना आवेदकले आवेदन दिएकोमा ५ हजार ५१५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म २१ करोड रूपैयाँ बराबरको २१ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो । सो मध्ये कम्पनीले २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि र १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूको बाँडफाँट गरिसकेको छ । यस्तै ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहने १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारणमा वितरण गरेको हो ।