राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार जिताउँछौं : नेता शेखर कोइराला

माघ २४, २०७९


माघ २४, नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने र उक्त उम्मेदवारलाई जिताउने बताएका छन् । अन्य दलहरूसँग सहमति गरेर कांग्रेसले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउने दाबी उनको छ ।

नेपाल प्रेस युनियन बागमती प्रदेश प्रथम अधिवेशनको आज सौराहमा उद्घाटन गर्दै कोइरालाले भने, २५ फागुनमा के हुन्छ भन्ने प्रश्न होला । राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिन्छ र त्यो निर्वाचन जिताउने हाम्रो जिम्मेवारी छ । कांग्रेसकै उम्मेदवारले जित्छ ।

कांग्रेस एक्लैको मतले मात्र राष्ट्रपति निर्वाचित नहुने भएकोले अन्य दलहरूसँग सहकार्य गरिने कोइरालाले बताए । अन्य दलहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । कांग्रेसको भोटले मात्रै राष्ट्रपति जित्न सक्दैन, उनले भने । उनले कांग्रेस प्रतिपक्षमै बस्ने र सरकारमा सहभागी नहुने पनि बताए । हामी सरकारमा जाँदैनौं, प्रतिपक्षमै बस्छौं, उनले भने ।