नेकपा विप्लव समूहले गर्‍यो घोराही-तुलसीपुर सडक अवरुद्ध

फागुन २१, २०७९


फागुन २१, नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाले घोराही-तुलसीपुर सडकखण्ड आधा घण्टा अवरुद्ध गरेको छ । घोराही-तुलसीपुर चारलेन सडक निर्माण पुरा गर्नुपर्ने भन्दै नेकपा तुलसीपुरनगर समितिले आइतवार बिहान तुलसीपुरको हात्तीखौवामा बिहान ११ बजेदेखि ११:३० सम्म घोराही-तुलसीपुर सडक अवरुद्ध गरेको हो ।

सडक निर्माण सुरु नभए थप अन्दोलन गर्ने नेकपाले चेतावनी दिएको छ । दाङको घोराहीको बबई नदीदेखि तुलसीपुरको हात्तीखौवासम्मको २५ किलोमिटर लामो सडक चार वर्षदेखि अलपत्र छ । भारतको तथ्य इञ्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रा.लि.ले जिम्मा पाएको उत्त सडक चार वर्षमा १० प्रतिशतमात्र काम भएको छ । सडक अलपत्र छोडिँदा नागरिकहरुले वर्षभरी धुलो र हिलोले सास्ती खेप्ने गरेका छन् ।