सल्यानमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

फागुन ३०, २०७९


फागुन ३०, सल्यानमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ । बनगाड कुपिण्डे – ९, स्वाराका अन्दाजी ४० वर्षीय चित्रबहादुर रावतको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए ।

जंगलमा सिकार खेल्न गएका बेला सोही ठाउँका आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासी पड्किएर पेट र घाँटीमा चोट लागेर गम्भीर घाइते भएका चित्रबहादुरको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाइएको प्रहरी निरीक्षक खनालले बताए । घटनामा संलग्न आइते रावत फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।