प्रचण्डपछि माधव नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री : विमलेन्द्र निधि

चैत ०२, २०७९


चैत २, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि कांग्रेस सरकारमा सहभागी हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले पुस ८ भित्रै विश्वासको मत लिने तयारी गरेका छन् । उपराष्ट्रपति निर्वाचनलगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ । त्यसपछि कांग्रेस सरकारमा जान्छ, कांग्रेस ललितपुर नगर समितिले आज बिहान गरेको कार्यक्रममा निधिले भने, गठबन्धन दलहरूबीच सहमति भएअनुसार सरकार पाँच वर्षसम्म कायम रहन्छ । नेता निधिले पहिलो चरणमा प्रधानमन्त्री प्रचण्डकै सरकार निरन्तर रहने बताए ।

पहिलो चरणमा प्रचण्ड, दोस्रोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तेस्रो चरणको सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति छ, उनले भने । नेकपा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएको पनि निधिको भनाइ थियो । गत पुस १० मा एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर राष्ट्रपति चुनावका बेला एमालेसँगको गठबन्धन तोड्दै माओवादीसहित ८ दलको गठबन्धन बनेको थियो ।