तीन तहका सरकारको सहकार्यबाट मात्रै मुलुक समृद्ध बन्छ : मुख्यमन्त्री गिरी

चैत २०, २०७९


दाङ, चैत २० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला लिला गिरीले तीन तहकै सरकारबीच समन्वय सहकार्य सहकार्यबाट नै विकास र समृद्घिको मार्गमा बढ्न सकिने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले निर्माण गर्न थालेको व्यापारिक भवनको शिलान्यास गर्दै मुख्यमन्त्री गिरी भन्नुभयो, स्थानीय, प्रदेश र संघ सरकारको समन्वय र सहकार्यबाट विकासमा दिगोपन र एकरुपता देखिन्छ । दाङको विकासका लागि कोइलाबास नाकालाई व्यवस्थित तुल्याउँदै कोइलाबासदेखि गढवासम्म सुरुङमार्ग निर्माणको कार्यलाई अघि बढाइनुपर्ने भन्दै मुख्यमन्त्री गिरीले भारतको उत्तर प्रदेश र विहार प्रदेशका पर्यटकहरुलाई कोइलाबास हुँदै ऐतिहासिक, धार्मिक स्थल स्वर्गद्वारीसम्म पु¥याउनका लागि पर्यटकीय मार्गकारुपमा अघि बढाइने बताउनुभयो ।

कृषिको माध्यमबाट समृद्धिको यात्रा तय गर्नुपर्ने भन्दै मुख्यमन्त्री गिरीले कृषि क्षेत्रमै परनिर्भरताको बाटो अपनाउँदा देशमा आर्थिक संकट उत्पन्न हुँदै गएकाले कृषिजन्य वस्तु उत्पादनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम अघि बढाउने बताउनु भयो । मुलुकको समृद्धिका लागि ठूलाठूला उद्योग, कलकारखाना खोलेर मात्रै हुँदैन । कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्नुपर्दछ मुख्यमन्त्री गिरीले भन्नुभयो, कृषिको माध्यमबाट समृद्धिको यात्रा तय गर्नुपर्दछ । कृषि, पर्यटन नै समृद्धिका प्रमुख माध्यम हुन् ।

अस्थिरताको अन्त्य नगर्दासम्म मुलुकले लक्षित उपलब्धी हासिल गर्न नसक्ने भन्दै मुख्यमन्त्री गिरीले आन्तरिक र बाह्य तत्वका कारण अस्थिरता निम्तिएको बताउनुभयो । फरक प्रसङ्गमा बोल्दै मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्ने संविधानमै व्यवस्था भएकाले सोही अनुसार अगाडि बढ्ने बताउनुभयो । अस्थिरताकै कारण मुलुकको समृद्धको मार्ग अवरुद्ध भएको छ । अस्थिरतालाई आन्तरिक र बाह्य तत्वहरुले प्रशय दिइरहेका छन मुख्यमन्त्री गिरीले भन्नुभयो, हाम्रो प्रदेशमा पनि अस्थिरताको सुरुवात भइसकेको छ । छोटो समयमै सरकार परिवर्तनको खेल चलेको छ । सरकार कानुनको पालना गर्दै अगाडि बढ्छ ।

कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले एक स्थानीय तह एक व्यापारिक भवनअन्तर्गत तुलसीपुर उपमहानगरपालिकाले व्यापारिक भवन निर्माण गर्न थालेको बताउनुभयो । नगर विकास कोषको र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त लगानीमा २२ करोड २९ लाख ३३ हजार छ सय तीन रुपियाँको लागतमा समानान्तर, डाइनामिक नारायणम् जेभीले निर्माण गर्न थालेको हो । २०८१ चैत २९ गते भवन निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।