थप २ मन्त्रीको नाम टुंग्यायो कांग्रेसले, अझै २ बाँकी

चैत २२, २०७९


चैत २२, नेपाली कांग्रेसले पार्टीका तर्फबाट मन्त्री बन्ने थप २ जनाको नाम टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकले सरकारमा पठाउन बाँकी ४ मन्त्रीमध्ये २ जनाको नाम टुंग्याएको हो । बैठकमा सहभागी एक पदाधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार केन्द्रीय सदस्यद्वय मोहनबहादुर बस्नेत र नारायणप्रकाश एनपी साउद मन्त्री बन्ने टुंगो लागेको छ ।

साउद गत मंसिरको चुनावमा कञ्चनपुर-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गराउँदै कांग्रेसले उनलाई मन्त्री बनाउन लागेको हो । यस्तै बस्नेत सिन्धुपाल्चोक-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनलाई बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको हो ।