२०८० साललाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रधानमन्त्रीको प्रण

बैशाख ०१, २०८०


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०८० साललाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रण गरेका छन् । नयाँ वर्ष २०८०को अवसरमा देश विदेशमा रहेका नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस्तो प्रण गरेका हुन् ।

उनले राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने बताए । उनले शुभकामना सन्देशमा भनेका छन्,‘ मलाई विश्वास छ, नयाँ वर्ष हामी आफैंमाथि भरोषा र आशाको वर्ष हुनेछ । यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।’

उनको शुभकामना सन्देश यस्तो छ

हरेक नयाँ वर्ष एउटा सुरुवात हो । विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो । हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन । राष्ट्र–निर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरु हुनै सक्दैन । राष्ट्रले मलाई दिएको भूमिकामाथि आभार प्रकट गर्दै प्रधानमन्त्रीका रूपमा म समस्त नेपाली जनसमुदायसँग संकल्प गर्दछु, नयाँ वर्षका मेरा हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुनेछन् ।
मेरा केही ठोस संकल्प छन् । निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुवात भएको छ । अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुँदै गएका छन् । वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन् । नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरू भएको छ ।
बैंक ब्याजदर कम हुँदै गएको छ । व्यवसायीहरुको बैंक ब्याज सम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ । राजश्व संकलनमा वृद्धि भइरहेको छ । परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा हामी क्रमभंग गर्न गइरहेका छौं । एउटा सकारात्मक वातावरण बनिरहेको छ तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नु छ । सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव हामीसँग छन् । नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन म आम जनसमुदायमा विशेष अपील गर्दछु । नयाँ वर्षमा हामी विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी होइन, राष्ट्रका क्षमता उजागर गर्नेछौं ।
संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट