प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन प्रमुख दलहरू सहमत

बैशाख ०४, २०८०


वैशाख ४, प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एवं एमाले अध्यक्ष ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको बताए । उनले लामो समयदेखि सर्वोच्च अदालतकोकार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति जुटेको बताए । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया शुरु गर्ने कुरामा सहमति जनाएको बताए ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश कार्यवाहक हुनुहुन्छ । लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको छ । प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई अघि बढाउन प्रधानमन्त्रीज्यूले पहल गर्नुपर्छ भन्नेकुरामा छलफल भयो, लेखकले भने । आजको बैठकमा संसदीय समिति सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउने कुरामा पनि छलफल भएको लेखकले बताए ।