प्रधानमन्त्री प्रचण्डले पाए भारत भ्रमणको निम्तो

बैशाख ०६, २०८०


बैशाख ६, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणको निम्तो प्राप्त गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री एनपी साउदले पनि सक्रियता बढाइसकेका छन् ।तयारी पूरा नभएसम्म भ्रमणको मिति भने सार्वजनिक गर्न नमिल्ने प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने ।

मिति तय भइसकेको छ, तर तयारी पूरा नभएका कारण त्यसलाई सार्वजनिक गर्न मिल्दैन र सुरक्षाको दृष्टिले पनि त्यो राम्रो मानिँदैन, उनले भने । वैशाख २८ देखि जेठ ४ गतेको बीचमा प्रधानमन्त्रीको भ्रमण हुन सक्ने उनको भनाइ छ । परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले भ्रमणको तयारी थालिसकेका छन् । भ्रमणको क्रममा केही विषयमा सम्झौता हुने जनाइएको छ । कृषि, जलस्रोत, शिक्षा, स्वास्थ्य मन्त्रालयबाट एजेण्डाहरु मगाएर त्यसमा अध्ययन गर्ने र कार्यक्रम बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।