बालुवाटारमा शीर्ष नेताले गरे संसदीय समिति भागवण्डा

बैशाख ३१, २०८०


वैशाख ३१, तीन ठूला पार्टीका शीर्ष नेताहरूले संसदीय समिति बाँडफाँटमा भागवण्डा मिलाएका छन् । प्रमुख प्रतिपक्षी दललाई तीनवटा समिति सभापति दिने र अरु समितिहरू सत्तारुढ गठबन्धनका दलहरूले भाग लगाउने सहमति भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

एमालेले सार्वजनिक लेखा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व र अर्को एउटा समिति पाउने भएको छ । एमाले संवैधानिक परिषद् सम्बन्धी विधेयकमा लचिलो हुने सहमति भएको पनि उनले जनाए । के लचिलो हुने खुलाइएको छैन ।

अघिल्लो संसद अधिवेशनमै संवैधानिक परिषद्सम्बन्धी विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एमाले लचिलो हुने सर्तमा तीन समिति दिने समझदारी भएको थियो । तर, फाष्ट ट्रयाकबाट ती विधेयक अघि बढाउन एमाले तयार नभएपछि सहमति टुटेको थियो ।