छानविन समिति गठन गर्ने सहमतिपछि मधु केसीको शव बुझ्न परिवार राजी

बैशाख ३१, २०८०


वैशाख ३०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएकी मधु केसीको शव बुझ्न परिवार तयार भएका छन् ।आइतबार अस्पताल र पीडित पक्षलगायतको उपस्थितीमा भएको छलफलपछि मधुको शव बुझ्न परिवार तयार भएको दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।

उनका अनुसार मृतकका दुई सञ्तानलाई घोराही उपमहानगरपालिकाले पढाइ दिने, प्रतिष्ठानमा दुई सन्तानको निशुल्क उपचार गरिदिने र घटना अनुसन्धानका लागि उपमेयर हुमा डिसीको संयोजकत्वमा छानविन समिति गठन गर्ने सहमती पछि आफन्त शव बुझ्न राजी भएका हुन् । झन्डै ४ घन्टा बढी चलेको छलफलबाट छानविन समितिको प्रतिबेदन अनुसार कारवाही वा क्षतिपुर्तीको व्यवस्था गर्ने सहमती भएको छ । घोराही उपमहानगरपालिका वडा नं.८ सौरीकी २८ बर्षीया मधु केसीको २८ गते राति अस्पतालमा मृत्यु भएको थियो । उनी सोही दिन बिहान ८ बजेतिर सुत्केरी हुन अस्पताल भर्ना भएकी थिइन ।

बच्चा जन्मिएपनि उनको साल नझरेपछि दिउँसो शल्यक्रिया गरिएको थियो । अत्यधिक रक्तश्राव भएपछि उनको गएराति ११ बजे मृत्यु भएको थियो । सुत्केरीको मृत्यु पछि अस्पतालले लापरबाही गरेको भन्दै आफन्तले क्षतिपूर्ति माग गर्दै २९ गते दिनभर जसो प्रदर्शन गरेका थिए । त्यसयता शव अस्पतालमै राखिएको थियो। अस्पतालका उपकुलपपति र शिक्षाध्यक्ष आएपछि भएको वार्तामा पीडित पक्ष शव बुझ्न राजी भएका हुन् ।