लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ४७ करोड ९७ लाख बजेट, आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण

असार ०१, २०८०


लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये १ करोड प्रदेश सञ्चित कोषबाट खर्च हुनेछ । यो बजेट चालू आवको भन्दा २ अर्बले कमी हो ।

बजेटमध्ये पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालूतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

अर्थमन्त्री मास्कीले चुनौती र अवसरलाई मनन गर्दै बजेटले राजस्व संकलन बढाउनुपर्ने दायित्व लिएको र संघीय अनुदान र थप राजस्व बढाउनुपर्ने बाध्यात्मक, राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने दाबी गरेका छन् । बजेटमा आर्थिक स्थायित्व कृषिको यान्त्रिकीकरण गरी प्रवर्द्धन गर्ने, गुणस्तरीय शिक्षामा विशेष जोड, लगानीमैत्री वातावरण बढाउने, निजी क्षेत्रसँग सहकार्य बढाउने लक्ष्य राखेर बजेट विनियोजन गरेको मन्त्री मास्केले जनाएका छन् ।

उनले आगामी वर्षका लागि चैत्र मसान्तभित्र विनियोजन विधेयक प्रदेशसभामा राखिने जनाएका छन् । त्यसैगरी कर्मचारी व्यवस्थापनका लागि दरबन्दीभन्दा बढी सेवा करारमा लिन नपाइने, खर्च व्यवस्थापनका लागि तालिम गोष्ठीमा हुने खर्च घटाइने, नयाँ संरचना निर्माण, सामान खरिद नगरिने अर्थमन्त्री मास्कीले जनाएका छन् ।