लुम्बिनी प्रदेशसभा सुरू गर्न सत्तापक्ष र विपक्षीबीच सहमति

असार २०, २०८०


असार २०, लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका विषयमा असहमति जनाउँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तापक्षका बीचमा सहमति भएको छ । एमालेले सरकारले प्रस्तुत गरेको बजेटप्रति असहमति जनाउँदै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको थियो । लुम्बिनी प्रदेशसभामा एमालेका प्रमुख सचेतक तुलसी चौधरीले सरकारले निर्देशनालय खारेजी र क्रमागत योजनाहरुमा बजेट कटौती गरेकोमा विरोध जनाउँदै आएकोमा सरकारले दुईवटै विषयमा सम्बोधन गर्ने भनेपछि संसद चल्न दिने सहमति गरेको जानकारी दिए ।

बजेटमाथीको छलफलका लागि मंगलबार आह्वान गरिएका दुईवटै बैठक अवरुद्ध गरेपछि मंगलबार राती नै सत्तापक्ष र एमालेका बीचमा निर्देशनालय खारेज नगर्ने र क्रमागत योजनाहरुको बजेटलाई पनि निरन्तरता दिने सहमति भएको चौधरीले बताए । विभिन्न निर्देशनालयहरु खारेज गर्ने सरकारले निर्णय गरेको भएपनि आगामी वर्षको बजेट समेत विनियोजन गरिएकोले निर्देशनालय खारेज नगर्ने र क्रमागत योजनाहरुलाई पनि बजेट विनियोजन गर्ने सत्तापक्षबाट सहमति भएको छ, चौधरीले भने ।

दुवै पक्षबीच सहमति भएपछि बुधवारको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्बोधन गर्ने बताईएको छ । प्रदेशसभा सचिव दुर्लवकुमार पुनमगरले मंगलबार स्थगित भएको प्रदेशसभाको दोस्रो अधिवेशनको १७ औँ बैठक बुधवार दिउँसो १ बजे बस्ने गरी सूचना जारी गरेका छन् ।