माओवादीका केन्द्रीय सदस्य ३ सय ८७ जना

साउन १६, २०८०


साउन १६, जथाभावी पार्टीका केन्द्रीय सदस्य बनाउने तर त्यसको अद्यावधिक नगर्दा केन्द्रीय सदस्यको संख्या समेत थाहा पाउन नसकेको माओवादी केन्द्रले केन्द्रीय सदस्यको टुंगो लगाएको छ । मंगलबार पार्टीको केन्द्रीय कमिटीको बैठक सुरू हुनुअघि केन्द्रीय सदस्यलाई परिचयपत्र वितरण गर्ने क्रममा माओवादीले आफ्ना पार्टीका केन्द्रीय सदस्य को को हुन् भनेर पहिचान गरेको हो । पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले सबै केन्द्रीय सदस्यहरूको कार्ड छपाइको काम सकिएको र आफ्नो पार्टीमा ३८७ जना केन्द्रीय सदस्य रहेको जानकारी दिए ।

यसअघि गत पुसमा भएको पार्टी महाधिवेशनमा २९९ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव भएको थियो । त्यस यता पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अन्धाधुन्ध केन्द्रीय सदस्य मनोनयन गर्दा त्यसको संख्या झण्डै साढे पाँच सय पुगेको थियो । तर यसको रेकर्ड कतै पनि राखिएको थिएन । अहिले केन्द्रीय कमिटीको बैठक सुरू हुनुअघि ती सदस्यहरूबारे अध्ययन गरेर संख्या निर्धारण गरिएको छ । माओवादीको केन्द्रीय कमिटी बैठक बुधबार प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्दैछ ।