सरकारले अघि बढायो संघीय निजामती सेवा विधेयक

साउन ३१, २०८०


साउन ३१, सरकारले संघीय निजामती सेवा विधेयक सदनमा पेश गर्ने तयारी गरेको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले विधेयक पारित गरेको थियो । मन्त्रिपरिषदबाट पारित विधेयक परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै विधेयकबारे कानून तथा अर्थ मन्त्रालयबाट सहमति लिइसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता, सहसचिव कमलप्रसाद भट्टराईले विधेयकलाई सरकारले अघि बढाएको बताए ।

मन्त्रिपरिषदबाट परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको जानकारीमा आएको छ उनले भने, केही दिनमा सदनमा पेश होला । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि निजामती विधेयक अघि बढे‍को बताए। उनले अब एक साताभित्रै विधेयक सदनमा पेश गरिने बताए । नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्य समितिले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै खड्काले अर्थतन्त्रको सीमाभित्र रहेर कर्मचारीको माग सम्बोधन हुने गरी विधेयक ल्याउने बताएका हुन् ।