यातायात कार्यालय गाईडरमा सार्ने निर्णय

भदौ १९, २०८०


दाङ, १९ भदौ । यातायात व्यवस्था कार्यालय तुलसीपुर दाङलाई तुलसीपुर-६ गाइडरमा सारिने भएको छ । उपयुक्त सरकारी संरचना गाइडरमा रहेकोले भाडाको घरमा रहेको यातायात कार्यालय सारिने भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ गाइडरमा कार्यालय सार्ने लुम्बिनी प्रदेश सरकारले निर्णय गरेको छ । आइतवार बसेको मन्त्रीपरिषदको बैठकले तुलसीपुर घोराही रोडमा रहेको यातायात कार्यालय गाइडरमा सार्ने निर्णय गरेको मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी दिए ।

गाइडरमा रहेको सरकारी पूर्वाधार र यातायातका लागि आबश्यक क्षेत्रफल भएको हुदा यातायात कार्यालय उक्त स्थानमा स्थानान्तरण गर्ने निर्णय गरिएको मुख्यमन्त्री चौधरीले बताए । अहिले यातायात कार्यालय मासिक ८० हजार रुपैया तिरेर भाडाको घरमा बस्दै आएको छ । भने कार्यालय स्थान समेत साघुँरो रहेको अवस्थामा छ । गाइडरमा रहेको सामाजिक विकास डिभिजन कार्यालयलाई भने शिक्षा तालिम केन्द्र तुलसीपुर १२ कपडादेवीमा स्थानान्तरण गरिएको छ । विषयगत मन्त्रालय अन्तरगत रहेको शिक्षा तालिम केन्द्रको पूर्वाधार प्रयोग विहीन भएको र त्यसको मर्मत सम्भार समेत नहुने अवस्था आए पछि सामाजिक विकास डिभिजनलाई कपडादेवीमा र यातायात कार्यालयलाई गाइडरमा सार्ने निर्णय गरिएको हो । गाइडरमा सामाजिक विकास डिभिजन भन्दा अघि सिप विकास कार्याल रहदै आएको थियो ।

मुख्यमन्त्री चौधरीले यातायताका लागि आबश्यक पूर्वाधार र जग्गा गाइडरमा रहेको हुदा उपयुक्त स्थान अनुसार कार्यालय सारिएको बताए । उनले आफुले स्थानीयवासी, सेवाग्राही र कार्यालयको माग अनुसार कार्यालय स्थानान्तरण गरेको बताए । गाइडरमा सबै यातायातका लागि आबश्यक सबै पूर्वाधार निर्माण गर्न सक्ने अवस्था छ । यो क्षेत्रमा मापदण्ड अनुसारका यातायताका पूर्वाधारहरु निमार्ण गर्न सहजै सकिन्छ, योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले भने, सरकारको निर्णयले सबैलाई खुसी तुल्याएको छ ।
सामाजिक विकास डिभिजनले स्वामित्वमा लिएका सिप विकासमा स्वरोजगारसंग संबन्धित सामग्रीहरु भने उद्योग मन्त्रालयलाई हस्ताणतरण गर्ने निर्णय गरिएको छ । गाइडर क्षेत्रमा यातायाताका लागि झण्डै एक विगाह जग्गा उपलब्ध भएको छ । स्थानीय सन्तोष लामिछानेले यातायात कार्यालय गाइडरमा सारिनु राम्रो भएको बताए । उनले कार्यालय उपयुक्त स्थानमा सार्ने निर्णय गर्ने मुख्यमन्त्री चौधरी र प्रदेश सरकारलाई समेत धन्यवाद दिए ।