संघीय निजामति विधेयक केहि दिनभित्र संसदमा दर्ता हुन्छ : प्रधानमन्त्री प्रचण्ड

भदौ २२, २०८०


भदौ २२, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामति सेवा विधेयक छिट्टै संसदमा दर्ता हुने बताएका छन् । निजामति सेवा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले संघीय शासन प्रणाली कार्यान्वयनको अत्यन्त महत्त्वपूर्ण औजारका रूपमा रहेकाले विधेयक चाँडै ल्याउने बताएका हुन् । संघीय निजामती सेवा ऐन यथाशक्य जारी होस् भन्ने सबैको भावना छ ।

यसै भावना र मर्मलाई आत्मसात गर्दै सरकारले संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी केही दिनभित्र संसद्‌मा दर्ता गर्ने तयारी गरिरहेको छ, प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ । उनले निजामती कर्मचारीहरू आफ्नो कार्यशैलोबाट सुशासनको प्रत्याभूति दिलाउने क्रममा जति क्षमतावान् छन् त्यति नै विश्वसनीयता कायम गर्दै राष्ट्रको सेवा गर्न सके मात्र राष्ट्रिय समृद्धिको सपना पूरा हुने बताए ।

त्यसकारण संघीय शासन व्यवस्था अनुसार निजामती प्रशासनमा देखिएका कानूनो संरचनागत तथा कार्यगत समस्या समयमा समाधान गर्दै समयसापेक्ष व्यावहारिक नेतृत्वबाट चुस्तदुरुस्त नतिजामुखी र नागरिकमैत्री बनाउन निरन्तर आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । मुलुकको जस्तोसुकै प्रणालीमा जनतालाई सेवा प्रवाह, विकास र सङ्क्रमणकालीन शासन व्यवस्थामा पनि निजामती प्रशासनले पुर्‍याएको योगदान सधैँ प्रशंसनीय रहेको उनले बताए ।