अधिकृत कुट्ने प्रहरीलाई ३ दिनभित्र कारबाही नगरे देशब्यापी हड्ताल गर्ने कर्मचारी संगठनहरूको चेतावनी

माघ १४, २०८०


निजामती कर्मचारीसम्वद्ध विभिन्न ट्रेड युनियन संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै विभिन्न संगठनले कारबाही नगरे देशभरको सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेसी निजामती कर्मचारी मन्चले आइतबार गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै उक्त चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा आफ्ना माग पूरा नभए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने उल्लेख छ । शुक्रबार दिउँसो प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई कुटपिट गरेका थिए । मोक्तानले शरीरको खानतलासी गर्न आनाकानी गरे गरेको प्रहरीको भनाइ छ ।