‘पुजार सार्की’ ट्रेलर : जातीय विभेदविरुद्ध लड्ने तीन पात्रको कथा

बैशाख २५, २०८१


चार मिनेट २१ सेकेण्ड लामो ‘पुजार सार्की’को ट्रेलरले दर्शकलाई दुई प्रश्न गर्छ । पहिलो– के शास्त्र पढे बाहुन भइन्छ ? , दोस्रो– के व्यवस्था बदलिएर जातीय छुवाछूत हटेको हो ?

यसअघि ‘प्रसाद’ र ‘प्रकाश’बाट जातीय विभेद र भौगोलिक विपन्नताको मुद्दा उठाएका दिनेश राउतले यो निर्देशकीय फिचरमा पनि जातीय विभेदकै मुद्दालाई प्रश्न गरेका छन् ।पञ्चायत अन्त्य भएर बहुदल आएको ४० वर्षअघिको राजनीतिक पृष्ठभूमिमा भनिएको ‘पुजार सार्की’को कथाले दर्शकलाई त्यो कालखण्डमा लैजान्छ, जतिबेला केही कम्युनिस्ट र क्रान्तिकारी जातीय विभेदविरुद्ध आफ्नो जात ‘झार्न’ समेत तयार थिए ।ट्रेलरले फिल्मको कथावस्तु र चरित्रबारे महत्वपूर्ण प्रकाश पार्छ । आर्यन सिग्देल पुजारको रोलमा छन् । प्रदीप खड्का मैतबहादुर नामक दलित युवकको भूमिकामा छन् । पल शाह क्रान्तिकारी र प्रगतिशील विचार राख्ने सोच भएका पात्र । अञ्जना बराइलीले दलित युवती र परीक्षा लिम्बूले कथित उपल्लो जातको भूमिका चित्रण गरेका छन् ।फिल्मको कथा अन्तरजातीय सम्बन्धको जटिलता वरपर घुम्छ । मन्दिरको पुजारी आर्यन मैयाँ (अञ्जना बराइली)लाई मन पराउँछ । ऊ विवाहका लागि आफ्नो जातबाट ‘झर्न’ समेत तयार छ । ऊ भन्छ-  ‘ब्राह्मण जात होइन, व्यवहार हो ।’ शास्त्र पढे बाहुन भइन्छ भन्दै ऊ शास्त्र पढ्न मैतेलाई प्रेरित गर्छ ।

ट्रेलर रिलिज गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक राउतले अहिले पनि जातीय विभेद र वर्ण व्यवस्था विद्यमान भएकाले यो समयमा फिल्म निर्माण गर्नु सान्दर्भिक हुने बताएका थिए । किङ्डम नेटवर्कको ब्यानरमा यो फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् ।

‘पुजार सार्की’ फिल्म जेठ १० गतेबाट प्रदर्शन तयारीमा छ ।