मुख्यमन्त्री सोडारीको विश्वासको मत अझै अनिश्चित

बैशाख २७, २०८१


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले लिने विश्वासको मत अझै अनिश्चित बनेको छ ।वैशाख ६ गते मुख्यमन्त्री सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । २१ दिन पुग्दा पनि कुन दिन र कहिले विश्वासको मत दिने भन्ने अझै सुनिश्चित भएको छैन ।

मुख्यमन्त्री सोडारीले बझाङ निर्वाचन पछि विश्वासको मत पाउने आश्वासन पाएका थिए तर, अहिले बझाङबाट निर्वाचित दमन भण्डारीले शपथ नलिएसम्म एमालेले विश्वासको मत नलिनेमा उनी विश्वस्त भइसकेका छन् ।तर, त्यस अघि नै दुई पटकसम्म मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिसकेका छन् जुन प्रयास असफल भएको छ ।

शुक्रबार विश्वासको मत लिने गरि तयारी गरेका मुख्यमन्त्री सोडारीले एमालेले विश्वासको मत नदिने बताएपछि शनिवार साँझ ५ः३० बजे सम्मको लागि बैठक स्थगित गरे । एमालेलाई मनाउने गरि बैठक स्थगित गरेका मुख्यमन्त्रीले अर्को बैठक राख्दा पनि छलफल नगरेको भन्दै एमाले थप चिढिएको थियो ।

तत्काल एमालेले विश्वासको मत नदिने देखिएपछि अनिश्चितसम्मको लागि प्रदेश सभा बैठक स्थगित गरिएको छ । विश्वासको मतका विषयमा केन्द्रीय नेतृत्वसँग परामर्श गर्न शनिबार नै एमाले नेताहरू काठमाडौँ गएका थिए ।

एमाले संसदीय दलका नेता राजेन्द्र बहादुर रावल, प्रमुख सचेतक सुरेन्द्र पालले काठमाडौँमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सुदूरपश्चिम प्रदेशको अवस्था बारे जानकारी दिएका थिए ।

ओलीले पनि तत्काल विश्वासको मत दिन हतार नगर्न सांसदहरूलाई निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि यहाँका सांसदहरू थप ढुक्क देखिएका छन् ।

‘अहिले हतार गर्नुपर्ने बेला आएको छैन । हामी छलफल र परामर्शमा छौँ’ एमाले संसदीय दलका नेता रावलले भने ‘हाम्रो नेतृत्वले पनि तत्काल हतार नगर्न भन्नुभएको छ। ’

अहिले मुख्यमन्त्री सोडारी पनि काठमाडौँमै छन् । उनी पनि नेता र नेतृत्वसँग छलफलमा छन् । अहिले सम्म पनि केन्द्रमा सोडारीलाई कहिले विश्वासको मत दिने भन्ने विषयमा कुनै टुङ्गो लागेको छैन । प्रदेश सभा बैठक अनिश्चित छ भने अन्य दलहरूले पनि तयारी गरेका छैनन् ।
अहिले केन्द्रमा पनि सत्ता गठबन्धन भित्र भागबन्डा मिलेको छैन । सत्तारुढ दलहरू पावर सेयरिङपछि मात्रै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गर्ने स्रोतको दाबी छ ।

अहिलेसम्म प्रदेश सरकारमा मुख्यमन्त्री सोडारीबाहेक भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नाउपाकै टिक थापा मन्त्री छन् ।

सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा पुरा गर्न मन्त्रालय फोड्ने विषयमा पनि छलफल जारी छ । अहिले अर्थ मन्त्रालयमा सत्ता गठबन्धनका दलहरूको दाबी देखिएको छ । अहिलेसम्म एमालेले सरकारमा सहभागी हुने विषयमा कुनै निर्णय गरेको छैन ।