लुम्बिनीमा आज स्थानीय सेवाको गठनसम्बन्धी विधेयक टेवुल गर्ने सरकारको तयारी

जेठ ०६, २०८१


लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा आज प्रस्तुत गर्ने भएको छ । आइतबार बस्ने चौँथो अधिवेसनको पाँचौं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले सदनमा विधेयक टेवुल गर्ने कार्यसूची रहेको प्रदेश सभाका सचिव दुलर्भ कुमार पुन मगरले जानकारी दिएका छन् ।

आइतबार प्रदेशको बैठक दिउँसो १ बजेबाट सुरु हुने बताइएको छ । मुख्यमन्त्री जोखबहादुर महराले विधेयक टेबुल गर्ने र प्रदेश सभा सदस्यहरूले विशेष समयमा सम्बोधन गर्ने कार्यसूची रहेको छ । 

यसअघि बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको थियो। यो विधेयकमा ९ वटा खण्ड छन्।

यसअघि लुम्बिनीमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएर ऐनको रुपमा जारी भइसकेको छ। स्थानीय सेवा र नीजामती कर्मचारी विधेयक सँगसँगै अघि बढ्नुपर्ने भए पनि निजामती कर्मचारी विधेयक पारित भएपछि मात्रै स्थानीय सेवाको विधेयक अघि बढाइएको छ।