अमेरिका विरूद्धको टी-२० सिरिज नेपालले गर्‍यो क्लिनस्विप

कार्तिक ०५, २०८१


कात्तिक ५, नेपालले घरेलु टोली अमेरिकाविरूद्धको तीन खेलको टी-२० सिरिज क्लिनस्विप गरेको छ । सोमबार बिहान भएको तेस्रो टी-२० खेलमा ८ विकेटको जितसँगै नेपालले सिरिज ३-० ले आफ्नो पक्षमा परेको हो । सोमबार अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १८.४ ओभरमा पूरा गर्‍यो ।

नेपालको जितमा कुशल मल्लले नटआउट ४४ रन र कुशल भुर्तेलले नटआउट ४० रन जोडे। मल्लले ३० बलमा ४ चौका र १ छक्का तथा भुर्तेलले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे । ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे । उनले ५० रन जोड्ने क्रममा ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर अनिल साहले १३ रन मात्र जोड्न सके । ग्रान्ड प्रिएरीमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो ।

अमेरिकाका लागि ओपनिङ ब्याटर मुक्कामल्लले सबैभन्दा बढी ६८ रन जोडे । १८ औं ओभरमा सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर तथा कप्तान मोनाक पटेल २ रनमा एलबिडब्लूको धरापमा परे । उनलाई पनि सोमपालले दोस्रो ओभरमा सिकार बनाएका थिए । अघिल्लो खेलमा अर्धशकत प्रहार गरेका आन्द्रेस गस २ रनमा आउट हुँदा आरोन जोन्सले १३ रन मात्र जोड्न सके ।

मिलिन्ड कुमारले नटआउट ४३ रन जोडे। उनले ३५ बलमा ४ चौका प्रहार गरे । हर्मित सिंहले ३ बलमा नटआउट १० रन बनाए ।बलिङमा नेपालका सोमपालले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले १/१ विकेट हात पारे । यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिज हुनेछ । लिग-२ को सिरिज ग्रान्ड प्रिएरीमै आगामी आइतबारदेखि सुरू हुँदैछ ।