वरिष्ठ चलचित्र प्रदर्शक श्रेष्ठलाई विशेष योगदान सम्मान

मङि्सर १०, २०८१


मंसिर १०, काठमाडौं । चलचित्र विकास बोर्डले वरिष्ठ चलचित्र प्रदर्शक ध्रुबकुमार श्रेष्ठलाई विशेष योगदान सम्मान २०८० प्रदान गर्ने भएको छ । बोर्डको गत शुक्रबार बसेको बैठकले अन्य १० जना चलचित्रकर्मी सहित उहाँलाई सम्मान प्रदान गर्ने निर्णय गरेको बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताउनु भयो ।

नेपाली चलचित्रको घरेलु बजार विस्तार एवं प्रवद्र्धनसंगै चलचित्र उद्योगको विकास र उत्थानमा प्रदर्शक श्रेष्ठले पु¥याएको महत्वपूर्ण योगदानको मूल्यांकन गर्दै बोर्डले सम्मान प्रदान गर्न लागेको हो । बोर्ड सदस्य एवं प्रवक्ता बुढाथोकीका अनुसार यही मंसिर १२ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रपति कार्यालयमा आयोजना गरिने राष्ट्रिय चलचित्र पुरस्कार २०८० समारोहमा उहाँलाई सम्मान प्रदान गरिनेछ ।

दाङको घोराहीमा वि.सं. २०४३ सालमा स्थापना भएको श्री गणेश चित्रालय प्रा.लि.को संचालक तथा प्रबन्ध निर्देशक समेत रहनु भएका वरिष्ठ चलचित्र प्रदर्शक श्रेष्ठ नेपाल चलचित्र संघको पश्चिमाञ्चल समितिको पूर्व सभापति तथा हाल सदस्य हुनुहुन्छ ।