कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

बैशाख १७, २०७७


प्रमुख प्रतिपक्षी दल कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्न लागेको छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कोरोना भाइरसको रोकथाम र उपचारका सम्बन्धमा भएका कार्य तथा पार्टीले गर्नसक्ने योगदानबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

बैठकमा लकडाउनपछि दैनिक ज्याला मजदुरी गर्ने र निम्न आर्थिकस्तर भएका समुदायमा परेको प्रभाव, राहतको व्यवस्था, विदेशमा अप्ठ्यारोमा रहेका नेपालीको उद्धारलगायतबारे पनि छलफल हुने जनएको छ।

यससँगै पछिल्लो राजनीतिक अवस्थाबारे पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने प्रवक्ता शर्माले बताए।

सरकारले राजनीतिक दल फुटाउन सजिलो हुने गरि राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्ष दलको नेता नहुँदा पनि निर्णय गर्नसक्ने गरि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। त्यसको विरोध गर्दै कांग्रेस केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका थिए।

सबैतिरबाट चर्को विरोध भएपछि सरकारले अध्यादेश फिर्ता लिइसकेको छ। तर, त्यसले उत्पन्न गरेको नेकपाभित्रको विवाद चर्किदै गएको छ।

कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा भने समसामयिक राजनीतिक अवस्था र कोरोनाबारे छलफल हुने जनाएको छ। कोरोना रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू भएपछि पहिलो पटक कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो।

कांग्रेसको पार्टी पदाधिकारी बैठक भने यस अवधिमा तीनपटक बसिसकेको छ।