सरकारले दैनिक समस्यामा परेका मजदुरलाई काम दिने
सरकारले असङ्गठित क्षेत्रका मजदुरको दैनिकीमा समस्या परेपछि रोजगार उपलब्ध गराउने भएको छ । काम नगर्नेले काम गर्ने मजदुरले प्राप्त गर्ने रकमको २५ प्रतिशत बराबरको खाद्यान्न मात्रै पाउने छ ।
यसअघि सरकारले पेशा अपनाउन नसकेर दैनिकीको जोहो गर्न नसकेका मजदुरलाई राहत दिने निर्णय गरेकामा त्यसलाई स्वरुप बदलेर सरकारले काममा लगाउने निर्णय गरेको हो । यही वैशाख १४ गते भएको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले असङ्गठित क्षेत्रमा कार्यरत रही हाल बेरोजगार श्रमिकलाई तीनै तहका सरकारी कार्यालयबाट सम्पादन हुने सार्वजनिक निर्माणका काममा लगाउने निर्णय भएको जानकारी दिनुभयो । यसरी काममा लगाउँदा उनीहरुलाई दैनिक ज्यालास्वरुप नगद वा खाद्यान्नको रुपमा उपलब्ध गराइने छ ।
उहाँका अनुसार असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिकलाई प्रदान गर्ने राहत मापदण्डको सीमाभित्र रही स्थानीय तहले दैनिक ज्याला दर निर्धारण गर्नेछ । काममा नआउने र नचाहने व्यक्ति राहत माग्न आएमा काममा खटिएका व्यक्तिले पाउने पारिश्रमिकको २५ प्रतिशत हुन आउने रकमको खाद्यान्न मात्र उपलब्ध गराइनेछ ।
यससम्बन्धी विधि र प्रक्रिया तयार गरी कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्न सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मा दिएको छ । यसरी रोजगार उपलब्ध गराउने विषयमा वैशाख दोस्रो सातादेखिनै तयारी थालिएको थियो ।
लकडाउनका कारण व्यावसायिक गतिविधि रोकिँदा असङ्गठित क्षेत्रका श्रमिक, मजदुरलाई तत्कालै समस्या भएपछि चैत १६ गतेको सरकारी निर्णयानुसार राहत दिन शुरु गरिएको थियो । राहत वितरणमा नचाहिने व्यक्तिले पनि लिने प्रवृत्ति देखिएको थियो । त्यसलाई रोक्न सरकारले नयाँ योजना ल्याएको हो ।






