फ्लप भइसकेको फिल्म फेरि चलाउन निर्माताको माग

असोज ०१, २०७८


अभिनेता शिव श्रेष्ठद्वारा निर्मित तथा अभिनीत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ गत वर्षको माघ १ गते प्रदर्शनमा आएको थियो । कोरोनाका कारण ९ महिनादेखि बन्द रहेका सिनेमा हल पुष २७ मा खुलेको तीन दिनपछि शिव श्रेष्ठले फिल्म चलाउने जोखिम उठाएका थिए । त्यसबेला उनले सिनेमा हल खुलाउन आग्रह गर्दै निर्वतमान प्रधानमन्त्री केपी ओलीलाई समेत भेट गरेका थिए ।

तर, शिव श्रेष्ठले हल खुलाउन पहल गरे पनि उनको फिल्मलाई भने दर्शकको सुखद साथ मिलेन । रिलिजका लागि अरु नयाँ फिल्म नहुँदा करीब एक महिना त सिनेमा हलमा ‘एउटा यस्तो प्रेम कहानी’ एक्लै थियो । यसका बावजूद पनि फिल्म हेर्न दर्शक हलसम्म पुगेनन् । जसका कारण मल्टीप्लेक्सहरुले दुई हप्तामै फिल्म हटाएका थिए । सिंगल थिएटरमा पनि उस्तै हविगत थियो ।

संक्रमण पुनः भयावह रुपमा फैलिएको भन्दै यसको रोकथामका लागि सरकारले बैशाख ६ गते सिनेमा हल बन्द गर्ने निर्णय गर्दा शिव श्रेष्ठको फिल्म अधिकांश हलबाट उत्रिसकेको थियो । वितरक गोपालकाजी कायस्थ स्वयंले फिल्म नचलेको स्वीकार गरेका थिए । तर, शिव श्रेष्ठसहितका निर्माताहरुले भर्खर खुलेका हलमा पुनः ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन गर्न माग गरेका छन् ।

निर्माता दिनेश दर्शनधारीले हल सञ्चालकहरुलाई निःशुल्क फिल्म दिन तयार रहेको बताए । उनले भने( ‘पहिला शिव दाईले सिनेमा हल खोल्न पहल गर्नुभयो र पहिला आफ्नै फिल्म रिलिज गर्यौं । फिल्म चल्दा चल्दै हल बन्द भयो । अहिले हल खुले पनि फिल्म छैनन् । हामीलाई एक रुपैयाँ पनि शेयर चाहिँदैन तर फिल्म नभएर हल बन्द गर्नुभन्दा हाम्रो फिल्म चलाउन आग्रह गर्छौं ।

अहिले फिल्म चलाइरहँदा अरु फिल्मलाई सहयोग हुने उनको भनाई छ । ‘फिल्म हेर्न १० जना दर्शक आउँदा पनि भोली रिलिज हुने अरु फिल्मलाई सपोर्ट हुन्छ । फिल्म पुनः रिलिज गर्नुपर्छ भन्ने शिव श्रेष्ठ दाईकै माग हो । हललाई चल्ने वातावरण बनाउन हामी निःशुल्क फिल्म दिन तयार छौं, उनले भने । दर्शनधारीले फिल्म पुनः रिलिज गर्ने विषयमा वितरकसँग छलफल भइरहेको बताए ।

यो फिल्मको निर्माण पूरा नभइ हलमा रिलिज भएको थियो । दिपेश सापकोटा निर्देशित फिल्ममा शिव श्रेष्ठसँगै आयुष्मान देशराज जोशी, प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, नरेन खड्का, ध्रुव कोइराला लगायतको अभिनय छ । यही फिल्मबाट शिव श्रेष्ठका छोरा शक्ति र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले नायक-नायिकाको रुपमा डेब्यू गरेका थिए ।