‘चिसो एस्ट्रे’ चैत ४ देखि प्रदर्शन हुने

मङि्सर २६, २०७८


चलचित्र ‘चिसो एस्ट्रे’ को प्रदर्शन मिति तय गरिएको छ । गाउँबाट आएको एक युवकले शहरिया बन्नका लागि गरेको यात्राको कथा समेटिएको यो चलचित्र चैत ४ गते रिलिज हुनेछ । निर्देशक दिनेश पाल्पालीका अनुसार आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने युवाको कथा चलचित्रमा समावेश छ ।

चलचित्रले मुख्य चार चरित्रमार्फत मानिसको अन्तरयात्राको कथालाई देखाउन खोेजेको बताए । चिसो एस्ट्रे मा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् । यस्तै, पर्दामा उनलाई निकुन श्रेष्ठ, नवीन लम्साल, सुशीलराज पाण्डे, रविन तामाङ र सृष्टि श्रेष्ठले साथ दिएका छन् । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् ।

निर्माणमा भने महेशबाबु लाई प्रवीन स्याङ्बा र शर्मिला पराजुलीले सघाएका छन् । चलचित्रको सहनिर्मातामा रुपेश ढुंगाना र नवीन ढुंगाना छन् ।चलचित्रमा दिनेशले लेखन तथा निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । यो चलचित्रमा अजर जंगमको संगीत छ । चलचित्रमा उज्ज्वल बस्ताकोटीको छायांकन, उज्ज्वल ढकालको सम्पादन छ ।