भारतबाट सुदूरपश्चिम छिरेका डेढ लाख मानिस कहाँ छन् ?

चैत २४, २०७६


२३ चैत, काठमाडौं । ‘नेपालमा कोभिड-१९ को महामारी फैलिने या नफैलिने भन्ने कुरा भारतबाट नेपाल छिरेका नेपालीहरुको अवस्थाले निर्धारण गर्छ’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले एक साताअघि भनेका थिए, ‘भारतबाट नेपाल छिरेका मानिसहरु कति छन् र कहाँ के गर्दैछन् भन्ने जानकारी नहुँदासम्म हामी डेञ्जर जोनमै छौं।’

बास्तोलाले अभिव्यक्ति दिएको एक साता नबित्दै सुदूरपश्चिममा शनिबार तीन जनामा कोरोना संक्रमण देखियो, जसमध्ये दुई जना भारतबाट आएका थिए भने एकजना त्यहीँका स्थानीय । यी तीनजना संक्रमित यो बीचमा कतिजनाको प्रत्यक्ष सम्पर्कमा थिए र तिनीहरु कहाँ छन्, कसैलाई जानकारी नै छैन । यसको मतलब, नेपाल अहिले कोरोना संक्रमणको डेञ्जर जोनमा प्रवेश गरिसक्यो । यसको कारण हो भारतबाट नेपाल छिरेका मानिसको सङ्ख्या हो ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांक अनुसार फागुन २३ गतेबाट चैतको दोस्रो सातासम्म प्रदेशका साना ठूला गरी १९ वटा नाकाबाट एक लाख ४३ हजार बढी मानिस नेपाल भित्रिएका छन् । यो बीचमा अवैध नाकाहरुबाट आएका मानिसको तथ्यांक  मन्त्रालयसँग छैन। जुन संख्या १० हजारभन्दा बढी भएको अनुमान गरिएको छ ।

तर, प्रदेशका नौ वटा जिल्लामा एक हजार सात सय सात जनालाई मात्र अनिवार्य क्वारेन्टाइनमा राखिएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए ।

प्रदेशमा स्थानीय तह, प्रदेश सरकार र नेपाली सेनाले समेत गरी ३ हजार नौ सय ७३ शैया बराबरका क्वारेन्टाइन स्थापना गरेको थियो । त्यसमा भारतबाट फर्केका डेढ लाखहरु अट्नै कुरै भएनन् । डा. अवस्थी भन्छन्,’ हामी अहिले उनीहरुलाई खोज्दैछौं ।’