कोरोनाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

चैत २५, २०७६


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दै छ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो। बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारका तर्फबाट भएका काम–कारबाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कांग्रेसको पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा.प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव सहभागी हुनेछन्। त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रुपमा रहनेछन्।