देशभर १५ हजार आठ सय जनाको कोरोना परीक्षण

बैशाख ०४, २०७७


कोभिड–१९ को रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट हालसम्म १५ हजार ८ सय जनाको परीक्ष्ण गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पिसिआर प्रविधिबाट हालसम्म ६ हजार ८७१ र आरडिटी प्रविधिबाट आठ हजार ९२९ वटा टेस्ट भएको जानकारी दिए।  त्यस्तै, गत २४ घण्टाभित्र कूल दुई हजार ८९४ परीक्षण भएका छन्।

उनका अनुसार ती परीक्षण गरिएकामध्ये अहिलेसम्म १६ जनामा मात्र कोभिड–१९ को सङ्क्रमण देखिएको छ। जसमा एक जना निको भएर घर फर्किसकेका छन्।

आरडिटी टेस्ट सञ्चालन गर्न अब १४ जिल्ला मात्र बाँकी रहेका छन्। जसमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा तीन, गण्डकी प्रदेशमा एक, प्रदेश नं ५ मा एक र कर्णाली प्रदेशमा दुई जिल्ला बाँकी छन्। मन्त्रलायका अनुसार वाग्मती र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आरडिटी टेस्ट शुरु भइसकेको छ।

त्यसैगरी परीक्षणसँगै क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दै गएको प्रवक्ता देवकोटाको भनाइ छ। उनका अनुसार हाल क्वारेन्टाइनमा बस्नेको सङ्ख्या पाँच हजार ६१४ रहेको छ। अहिलेसम्म आइसोलेशनमा ११७ रहेका छन्। तीमध्ये काठमाडौं उपत्यकामा ११ जना छन् भने उपत्यका बाहिर १०६ जना रहेका छन्।