सरकारमा बस्नेहरु निमुखा पैदलयात्रीको दर्शकमात्र बने : सभापति देउवा
बैशाख ०५, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंबाट घरतर्फ हिँडेका नागरिकबारे सरकारमा बस्नेहरु दर्शकमात्र बनेको आरोप लगाएका छन् ।
काठमाडौंमा श्रम गरिरहेकाहरु खाना र बस्ने ठाउँ नहुँदा सयौं किलोमिटर पैदल हिँडेर गाउँतर्फ गएको भन्दै सरकारमा बसेकाहरु दर्शकमात्र भएको बताएका हुन् ।
शुक्रबार आफ्नो ट्वीटर ह्यान्डलमार्फत देउवाले भनेका छन्, ‘सरकारको भरथेग सबैभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने हो । तर सरकारमा बसेकाहरु ती निमुखाको त्यो यात्राको दर्शकमात्र भएका छन् ।’
कोरोना भाइरसले उत्पन्न लकडाउन लम्बिँदै जाँदा काठमाडौंमा अस्थायी बसोबास गर्ने नागरिक पैदलै हिँडेर घर गइरहेका छन् ।






