आज विश्व सम्पदा दिवस, सुनसान सम्पदा क्षेत्र

बैशाख ०६, २०७७


आज अप्रिल १८ अर्थात् विश्व सम्पदा दिवस । विश्व सम्पदा दिवसको अवसरमा यो वर्ष नेपालमा कुनै पनि औपचारिक कार्यक्रम गरिएको छैन ।
कोरोना भाइरस संक्रमण जोखिमका कारण नेपालका सम्पदा क्षेत्रमा पनि यसको असर परेको छ । नेपालका महत्वपूर्ण सम्पदा क्षेत्र अहिले सुनसान छन् । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने गरी गरेको तयारी कोरोना संक्रमणको महामारीका कारण स्थगित भएको छ । सरकारले गरेको लकडाउनपछि नागरिक घर बाहिर निस्केका छैनन् ।
काठमाण्डौ उपत्यका र लुम्बिनी क्षेत्रलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन युनेस्कोले सांस्कृतिक सम्पदा क्षेत्रका रुपमा सूचीकृत गरेको छ । काठमाण्डौ उपत्यका भित्र काठमाण्डौ, ललितपुर र भक्तपुरका ७ वटा सम्पदा विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।
बसन्तपुर, पाटन र भक्तपुर दरवार क्षेत्र, पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ स्तूप, चाँगुनारायण मन्दिर सम्पदा क्षेत्र सन् १९७९ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत भएका हुन् । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो ।