महाभूकम्पको पाँच वर्ष, अझै सकिएन पुनर्निर्माण कार्य

बैशाख १२, २०७७


 

५ वर्षअघि आजैका दिन बारपाक केन्द्रबिन्दू बनाएर आएको भूकम्पले ठूलो क्षति गरेको थियो । ११ बजे ५६ मिनेट जाँदा ७.८ म्याग्निच्युटको प्रलयकारी भूकम्प र त्यसपछि निरन्तर पराकम्प गइरहेका थिए । भोलिपल्टै फेरि ६.७ रेक्टर स्केलको अर्को ठूलो पराकम्प गयो । त्यस्तै, २९ वैशाखमा दोलखाको सिंगटीलाई केन्द्रविन्दु बनाएर अर्को शक्तिशाली पराकम्प गयो । यस भूकम्पमा ९ हजार (दर्ता भएका) भन्दा बढीको मृत्यु भने २२ हजारभन्दा बढी घाइते भए । ३५ लाखभन्दा बढी जनसंख्या घरबारविहीन भयो । १९९० सालको भूकम्पछि यो नेपालमा आएको सबैभन्दा प्रलयकारी भूकम्प थियो ।
भूकम्पले सात हजार ५५३ विद्यालय, ९२० सांस्कृतिक सम्पदा, एक हजार १९७ स्वास्थ्य संस्था, ४१५ सरकारी भवन, सुरक्षा निकायका १९४ संरचना, ७६२ किमी सडक संरचना र एक हजारभन्दा बढी खानेपानी संरचनामा क्षति पुगेको थियो ।
क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो । प्राधिकरणले देशका महत्वपूर्ण सम्पदाको अझै पूननिर्माण गर्न सकेको छैन ।
३२ जिल्लाका ९ सय २० वटा सम्पदामध्ये ४ सय २ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४१ वटा सम्पदा पुनर्निर्माणको चरणमा रहेको छ । काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रका क्षतिग्रस्त १ सय ७० वटा सम्पदामध्ये १ सय १ वटा अर्थात ५९ प्रतिशत सम्पन्न भएका छन् भने बाँकी ५४ वटा अर्थात ३२ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको छ । काठमाडौँको धरहरा,रानिपोखरी सहित भूकम्पपछि क्षतिग्रस्त बनेका अधिकांश महत्वपूर्ण संरचनाको पुनर्निर्माण बाँकी नै छ ।
पुननिर्माणका क्रममा हालसम्म पुननिर्माण प्राधिकरणबाट मात्रै ३ खर्ब ८१ अर्ब रुपैँयाँ खर्च भएको छ ।