हरिया चुरा र साउन

साउन ०३, २०७७     चिन्तामणी रेग्मी


हाम्रो नेपाली समाज विभिन्न भेषभुषा, भाषा, कला र संस्कृतीमा धनि मानिन्छ । प्राचिनकालदेखी नै यहाँ विभिन्न प्रकारका सामाजिक सांस्कृतिक परम्पराहरु निरन्तररुपमा चल्दै आईराखेका छन भने कतिपय संस्कृतिहरु एकापसमा अन्तरघुलन भएर तथा समयक्रम संगसंगै विस्तारै अन्य संस्कृतिको प्रभाव स्वरुप पुराना संस्कृति लोप हुँदै जाने र नयाँ संस्कृतिहरु उदय हुने क्रम पनि जारी छ । हरेक चाडपर्वहरु प्रत्येक वर्ष उस्तै मौसम अनि उस्तै समय र परिबेश बोकेर हरेक वर्ष फेरीएका क्यालेण्डरका पानाहरुसँगै पुनरागमन हुने गर्दछन् । यस्तै सांस्कृतिक परम्पराहरुमध्ये केहि समय अघिदेखीमात्र शुरु भएको र पछिल्लो समयमा नेपाली महिलाहरुमाझ निकै लोकप्रिय रहेको एक सस्कृति हो साउन महिनामा हरिया चुरा लगाउने प्रचलन ।

विश्वमा चुरा लगाउने प्रचलनको विकासक्रम हेर्दा यसको शुरुवात सर्वप्रथम इजिप्टबाट भएको पाइन्छ । नेपालमा भने यसको प्रचलन पृथ्वीनारायण शाहको पालादेखी शुरुवात भएको बुझिन्छ । पुजाको समयमा गोरखकालीलाई चुरा चढाउनुपर्ने प्रसंग पृथ्वीनारायण शाहको जिवनीमा पढन पाइन्छ । पृथ्वीनारायण शाह गोरखकालीका भक्त थिए । एकदिन गोरखकाली सपनामा प्रकट भएर पृथ्वीनारायण शाहलाई भनिन–“तिम्रो पुजाआजाबाट म प्रशन्न छु । तर तिम्रो पुजाआजा पूर्ण भने छैन किनभने मलाई पूजा गर्दा चुरा र धागो चढाउनुपर्छ ।” त्यसपछि पृथ्वीनारायण आफ्नो ससुराली बनारस गएको बेलामा चार घर चुरा र धागोको व्यापार गर्ने मुस्लिम समुदायका मानिस ल्याएर गोरखा बजार नजिकै रहेको ताप्ले भन्ने गाँउमा बस्ती बसाली चुरा र धागो उपलब्ध गराएको भन्ने उल्लेख छ ।

चुरा श्रृंगारको प्रतिक हो । चुराको छनछन बज्ने आवाज साच्चिकै निकै मधुर हुने गर्दछ र यसले सबैलाई मन्त्रमुग्ध बनाउछ पनि । भनिन्छ जुन घरमा महिलाको हातमा चुरा बज्दछन, त्यो घर लक्षिणको हुन्छ । जुन घरमा चुरा बज्दैन त्यो घर श्मशान समान हुन्छ । चुरालाई सुरक्षा कवजको रुपमा पनि लिइन्छ । प्राय गाडीहरुमा चुराको माला बनाएर झुण्डयाइएको हुन्छ भने नारीको हातको चुरा बजेमा भुतप्रेत पनि भाग्ने विश्वास गरीन्छ ।

आधुनिक युगमा चुरा श्रृंगारको रुपमा नारीहरुले लगाउने प्रचलन बढदै गएतापनि हाम्रो संस्कृति र कुनै धार्मिक ग्रन्थहरुमा हरिया चुरा साउन महिनामा नै लगाउनुपर्ने कारण कहिकतै उल्लेख गरिएको भेटिदैन । श्रावण महिना शिवजीको महिना हो र धार्मिक हिसाबले हेर्दा पुजाआजामा पहेलो र रातो रङ्ग शुभ मानिन्छ । तर हरियो रङ्ग प्रचलनमा किन आयो यो कुरा शास्त्रले बताउन सकेको छैन ।
साउन महिना बर्षा, प्रेम र झरीको संगम हो । यो महिना प्राकृतिक रुपले नै हरियो हुन्छ र हरियाली प्रकृतिको महिनाको भनेर पनि चिनीन्छ । वनजंगल, भिरपाखा, लेकबेशी र खेतबारी चारैतिर हरियाली हुन्छ साउन महिनामा । गाउघरतिर साउनलाई खेतीपाती सकेर सफासुग्गर हुने महिनाको रुपमा लिइन्छ । हाम्रो संस्कृति अनुसार साउन १ गते लुतो फाल्ने चलन छ । बर्षातको समयमा हिलोमैलोमा काम गरिसकेपछि कामको चटारोका कारण सरसफाई गर्न नभ्याएकाहरुले साउन महिनालाई नुहाई–धुहाई र सरसफाईको महिनाको रुपमा लिन्छन ।
यसैबिच हालैका केही बर्षयता साउन महिनामा महिलाहरुले हरियो पहिरन र चुरापोते लगाउने प्रचलन बढेको छ । साउन महिना शुरु भएसंगै घरदेखी शहरबजार सबैतिर महिलाहरुको शरीर हरियो साडी, कुर्ता, सुरुवाल तथा गला हरियो पोतेले सजिएको हुन्छ भने हातहरु हरिया चुरा र मेहन्दीले सजिसजाउ भएका हुन्छन । अझ कतिपयले त नङ पालिस समेत हरियो रङ्गको प्रयोग गर्ने गरेको पाइन्छ । हरियो चुरा, पोते, साडी अनि मेहन्दीले साउनको रौनक झनै व्यापक बनाउछ ।
शास्त्रमा साउन महिनालाई महिलाहरुको शक्तिको महिना मानिएको छ । साउन महिनाको हरियो रङ्ग हाम्रो धर्ममा उर्वर शक्तिका रुपमा मानिने गरेको छ । साउन महिनामा भएको प्रकृति परिवर्तनले हाम्रो हर्मोन नै परिवर्तन गरिदिने गर्दछ जसको प्रभाव हाम्रो शरीर तथा मनमा परेको हुन्छ । जसले शरीरमा जोश, जागर र काममा भावना दिन्छ ।

ज्योतिष शास्त्र अनुसार साउनमा हरियो रङ्ग बुधबाट प्रभावित हुने गर्दछ । त्यसैले बुधबाट प्रभावित हुने हरियो चुराले हाम्रो भावना नियन्त्रण गर्ने काम गर्दछ । त्यसैले साउनमा मेहन्दी लगाउने बैज्ञानिक कारण पनि मानिन्छ । विशेषज्ञले हरियो रङ्गलाई शितलता र स्फुर्ति प्रदान गर्ने रङ्ग भनेका छन्, साथै यो रङ्गले हाम्रो आँखालाई पनि फाइदा पुर्याउछ ।

पौराणिक मान्यता अनुसार साउन महिना देवताहरुका पनि देवता अर्थात शिवको महिनाको रुपमा लिइन्छ । पार्वतिले साउन महिनाभरी निराहार कठोर व्रत बसेर शिवलाई प्राप्त गरेकि हुनाले भगवान शिवलाई यो महिना विशेष हुन गयो भन्ने मान्यता छ । हुनत शिवको पुजाआजा बालाचतुर्दशी–मंसिर, माघे संक्रान्ति–माघ, शिवरात्री–फाल्गुन, अक्षय तृतीया–बैशाखजस्ता अरु महिनमा पनि विषेश रुपमा हुन्छ । यद्यपी महिनाभरी शिवको पूजा हुने महिना भने साउन मात्र हो । शास्त्रमा बताए अनुसार धान रोप्नु, साउने सक्रान्तिमा लुतो फाल्नु, साउने सोमबारका दिन व्रत बस्नु आदि सबै कार्य पनि यसै महिनामा गरिन्छ ।

सोमबार श्रीमानको सु–स्वास्थ र दिर्घायुका लागि व्रत बस्ने गरीन्छ भने साउने सोमबार बिद्याका लागि पनि राम्रो मानिन्छ । शिवजीको पूजा आराधना गर्दा असल श्रीमान प्राप्त हुने, व्यापार राम्रो हुने, किसानको खेतीपाती सप्रने विश्वास गरीन्छ । त्यस्तै साउनमा वर्षा धेरै हुने, झरी पर्ने र किटाणुको संक्रमण हुने हुँदा लुतो फाल्ने पनि चलन छ । यो समयमा रोगहरु लाग्ने बढी संभावना भएकोले माछा, मासु, लसुन एवं उत्तेजित हुने खाना खानु हुँदैन । पहिले महिलाहरु साउनमा आफूसँग भएका लुगा गहना सफागरी लगाई सजिने र सोमबार चोखो खाएर व्रत बस्ने चलन थियो । पछि क्रमश भारतिय टेलिभिजन, चलचित्र, संस्कृति आदिको प्रभावले गर्दा यो संस्कारको रुपमा विकास हुदै गई हालको स्थितीमा आइपुगेको पाइन्छ ।

अहिले यो संस्कृतिले विस्तारै फेशनको स्वरुप ग्रहण गर्दै गइराखेको आरोप पनि लाग्न थालेको छ । ब्वाईफ्रेण्डले गर्लफ्रेण्डलाई उपहारको रुपमा मेहन्दी, चुरा, कपडा दिने, गर्लफ्रेण्डले पनि हातमा मेहेन्दीले ब्वाईफ्रेण्डको नाम बनाउने कार्य पनि यदाकदा भए गरेको पाइन्छ ।

कतै मैले सुनेको थिए । यदि कुनै महिलाले हरियो चुराको साथमा छेउमा रातो चुरा लगाएको भए ति महिला विवाहित भएको बुझ्नुपर्दछ, हरियो चुरासँग पहेलो चुरा लगाएको भए ति महिला कसैसँग प्रेममा रहेछिन भन्ने बुझ्नुपर्दछ । त्यसैगरी यदि कुनै महिलाले हातमा हरियो चुरामात्र लगाएकिछिन भने ति महिला असल सहयात्रीको खोजिमा रहेछिन भन्नेकुरा बुझ्नुपर्दछ ।

यसरी हेर्दा हातमा लगाएको चुराको रङ्गको अर्थ सडकको ट्राफिक संकेत गर्ने बत्तिको जस्तै देखिन जान्छ । पहेलो बत्तिपछि रातो बत्ति बल्नु : प्रेम सम्बन्धपछि विवाह हुनु : हातमा पहेलो चुरापछि रातो चुराको पालो आउनु कताकता मेल खाएजस्तो लाग्ने ।
यसप्रकार यो हरियो चुरा लगाउने पर्व हाम्रो परम्परागत रितिरिवाज नभएको तथा कुनैपनि धार्मिक ग्रन्थमा यसको चर्चा नगरिएको भएतापनि साउन महिना खेतिपाती सकेर सफा सुग्घर हुने महिनाको रुपमा रहनुले महिलाले लगाउने सफा र नँया पोषाकको प्रयोग गर्नु, प्रकृति र पोषाकको तालमेल पनि निकै चाखलाग्दो हुनु, पार्वतीले साउन महिनामा नै व्रत बसेर शिवजीलाई प्राप्त गरेको हुनाले त्यस्तै अभिलाषा बोकेर सोमबार व्रत बसी पति नभएकाले असल पतिको चाहना र पति भएकाहरुले पतिको स्वास्थ एवं दिर्घायुको कामना गर्नु साथै कृष्ण राधाले रसलिला रचाएको महिना पनि साउन नै भएको हुनाले यो महिना प्रेम र सुन्दरताको महिनाको रुपमा रहनुजस्ता कारणहरुले यो सस्कार नयाँ भएतापनि यसले छुट्टै महत्व बोकेको छ । केहि धार्मिक रहस्यका साथसाथै वैज्ञानिक पाटोबाट नियाल्दा पनि यसको आफ्नै विशेषता बोकेको कारणले गर्दा नै यस कार्यले छोटो समयमा नै एउटा विशेष पर्वको रुपमा लोकप्रियता हासिल गर्न सफल भएको छ ।